24 Oct

१२ वर्षे वःला कार्यक्रम

स्वयम्भू महाचैत्य परिसर, स्वयम्भू , काठमाडौं

मिति २०७५ कार्तिक ७ (कतिं पुन्हि) र ८ (पारु) गतेका दिन परम्परागत ङ्यत त्वा: (नरदेवी टोल) को १२ वर्षे व:ला कार्यक्रम सम्पन्न भएको छ। ज्यापु समुदाय (महर्जन, डंगोल, प्रजापति, सुवाल, सिं आदि)मा आदिकालदेखि चल्दै आएको प्रत्येक बाह्र-बाह्र वर्षमा एक पटक पठाइने व:ला परम्परा अनुसार यस टोलको यसै वर्ष २०७५ बाट स्वयमभू महाचैत्य परिसरमा व:ला पठाउने कार्यक्रम सम्पन्न भएको छ ।

उपत्यकाका नेवार समुदाय भित्रपनि विशेष गरि ज्यापु समुदायमा मात्र प्रचलनमा रहेको यस धार्मिक परम्परा अनुसार समुदायका ब्रतबन्ध नगरिसकेका बालक/युवा हरुलाई आफ्नो घरभन्दा बाहिर परम्परा अनुसार निश्चित स्थानमा गई दुइरात दुई दिन धार्मिक परम्परा अनुसार पुजा पाठमा सहभागि भई बस्ने कार्यलाई “व:ला छ्वयेगु” भनिन्छ । धार्मिक मान्यता अनुसार व:लामा सहभागि हुने ब्यक्तिले उक्त दुइ दिनको समापन पुजा सम्पन्न नभएसम्म नुन, माछा, मासु लगायतका खानेकुरा ग्रहण गर्नु हुँदैन । यसै अवसरमा व:ला कार्यक्रमा सहभागि परिवारका बिहेबारि भइसकेका दिदि, बहिनि, फुपु, मामा लगायतका आफन्तहरुबाट समेत उक्त स्थानमा गइ वला: पठाइएको बालक/युवालाई दुध, चिउरा, फलफुल, फुल सगुन समेत दिएर आषिश प्रदान गर्नजाने प्रचलन रहेको छ । यसलाई स्थानीय भाषामा “स्वाँनं छुक:वनेगु” भनिन्छ ।

व:ला कार्यक्रम प्रारम्भ भएको वर्षदेखि लगातार तिन वर्ष सम्म क्रमिकरुपमा कार्यक्रम संचालन भइ तेस्रो वर्षमा धार्मिक परम्परा अनुसार स्वयमभूमा विशेष पुजा गरि व:ला धुंकेगु (व:ला समापन) कार्य हुनेछ भने चौठौं वर्षमा “मत कायेगु” कार्य गरि १२ वर्षे व:ला ज्याझ्व: विधिवत सम्पन्न गरिने छ ।

यसैगरि समुदायको धार्मिक र सामाजिक मान्यता अनुसार व:ला कार्यक्रममा विधिवत साहभागि भइसकेपछि मात्र उक्त बालक पुर्ण यूवावस्थामा प्रबेश भएको मानिन्छ र तत् पश्चातनै उक्त व्यक्ति, आफ्नो परिवार र समुदायको हरेक धार्मिक साँस्कृतिक, सामाजिक र पारिवारिक जिम्मेवारी बहन गर्नको निम्ति योग्य ठहरिने र परिपक्व हुँदैजाने जनविश्वास रहेको छ ।


व:लाका केहि झलकहरुः