>L g/b]jL Zj]tsfnL dfO{

परिचयः

नरदेवी टोल प्राचिन काठमाडौं शहारको एक प्रसिद्ध टोल हो । यो टोल प्राचीन हनुमानढोका दरवारक्षेत्रदेखि उत्तर-पश्चिम भेगमा पर्दछ । हनुमानढोकाबाट यहाँ आइपु्ग्न करिब ५-७ मिनेट हिँडे पुग्दछ । टोल हाल काठमाडौं महानगरपालिका वडा नं १८ र २४मा पर्दछ ।

पूर्वमा किलागल, दक्षिणमा यटखा र उत्तरमा रहेको टेंगल टोलहरुको आआफ्नै धार्मिक साँस्कृतिक परम्पराहरु छन् तथापि यी टोलहरु साँस्कृतिक हिसाबबाट धेरथोर नरदेवी टोलसित गाँसिएका पनि छन्। नेटपाचो (पश्चिम) चाहिँ मूलतः नरदेवी टोलकै अङ्ग मानिएको देखिन्छ । यो पश्चिमको गाउँबस्तिहरुबाट काठमाडौं आवत-जावत गर्ने मूलबाटो पनि हो । नेटपाचोको पश्चिम छेउमा ताम्सिपाखा नपुग्दै उहिले नगर प्रवेशद्वार भएको बुझिन्छ ।

इतिहासः


नरदेवी टोल ऐतिहासिक दृष्टिले कतिपुरानो हो भन्ने सम्बन्धमा यसको शिलान्यास लिच्छविकालमा भएको अनुमान गर्न सकिन्छ । देवमाला वंशावलीमा अनुसार नरदेवी शक्तिपीठको स्थापना र प्रानप्रतिष्ठा सूर्यवंशी राजा गुणकामदेवले गरेका हुन् । कलिगत ३८२५ मा गुणकामदेव (विसं १०४३-४६ ) ले १००० घरधुरि को कान्तिपुर नगर बसाए पश्चात देशरक्षाका लागि नगरको मध्यभागमा श्वेतकाली (नरदेवी) पीठको प्रतिष्ठा गरेका थिए। यसरी नगरबीच पीठ स्थापना भएपछि पीठको वरिपरि नागरिकहरुको बस्ती बस्नु स्वाभाविक छ । कालन्तरमा यहि बस्तीबाट नरदेवी टोलको प्रारम्भ भएको हुनु पर्दछ। इतिहासविद् डा जगदीशचन्द्र रेग्मीले नरदेवी भेगमा प्राप्त नेसं २२१ (विसं ११५८) को जलद्रोणी र त्यसमा अङ्कित अभिलेखको उल्लेख गर्नुभएको छ (पृ १३१) । जलद्रोणी (धारा) भएपछि त्यसको आसपास वा वरिपरि बस्ती बसेको हुनु पर्दछ । यसरी हेर्दा विसं ११६० ताका नरदेवी टोल छोटोमोटो आकारमा विकसित भइसकेको अनुमान गर्न सकिन्छ ।

यसैगरि, इटुम्बहाल नरदेवी टोलको आसपास परेको हुनाले यसको विकाससँग सँगै नरदेवी टोलको पनि विकास हुँदैगएको अनुमान गर्न सकिन्छ । डा जगदीशचन्द्र रेग्मीले गोपालवंशावलीलाई उद्घृत गर्दै नेसं ३६१(विसं १२९८) मा पाटनका कातिपाल भारोले याटुम्बहार(इटुम्बहाल) को किल्ला खुलाएको प्रसङ्ग उल्लेख गर्नु भएको छ । किल्लाभित्र कीर्तिहरु थप्दै जाँदा नरदेवी टोल र टोलको जनजीवनको विकासस्तर बढ्दै गएको हुन सक्दछ ।

एवंक्रममा नरदेवी टोलको विकास अगाडी बढ्दै जाँदा कान्तिपुर नगरको एक प्रमुख टोलको रुपमा यसको पहिचान पूर्वमल्लकालमा स्थापित भएको देखिन्छ । वर्तमान साँस्कृतिक रुपमा यसको विकास प्राचीन यम्बु अथवा उत्तर टोल (हाल थःने)का असन, वंघः(इन्द्रचोक) र मन्दो(मरु) आदि टोलगरुको विकासको हाराहारी हुँदै गएको हुनु पर्दछ ।

कालक्रममा नरदेवीक्षेत्रका नाउँ के-के थिए त्यो भन्न सकिने कुरो भएन। डा जगदीशचन्द्र रेग्मीका अनुसार यसको ‘ङत’ नाउँको पहिलो लिपिबद्ध प्रमाण नेसं ५५९ (विसं १४९६) को “तुलाधर पटिसाहु” को प्रसङ्गमा भएको पाइन्छ (पृ १३३) ।

देवीको नाउँः

नरदेवी भगवतीको प्रारम्भिक नाउँके थियो यसै भन्न सकिएन । मल्लकालमा आएर उपत्यकाका नेवारहरुले उहाँलाई ‘ङतभुलु’ र पछि ‘ङतमरु’ अजिमा भन्न थाले । आधुनिककालमा आएर नरदेवी भन्न थालियो । नरबली लिने देवी भन्ने अवधारणावश मैतिदेवी, टुँडालदेवी आदि नाउँहरुको नमूनामा उहाँलाई नरदेवी भन्न थालिएको हुनु पर्दछ । उहाँको शास्त्रीय नाउँ चाहिँ श्वेतकाली भएको देखिन्छ र आज हामी उहाँलाई यसै नाउँले मान्दछौं ।

 

  • हेरिएका कृतिः नरदेवी टोल एक बहुमुखी परिचयः